काठमाडौं । टोकिया ओलम्पिकका लागि एयिसन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा नेपालका दुई बक्सिङ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
जोर्डनको अमानमा आयोजना हुने छनोट खेल्न २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सनिल शाही तथा महिला ५७ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा विदेशी प्रशिक्षक अलिशेर राखिमोभ रहेका छन् ।
यसअघि उक्त छनोट प्रतियोगिता फेब्रुअरी ३ देखि १४ तारिखसम्म चीनको वुहानमा हुने भनिएको थियो । कोरोना भाइरसका कारण प्रतियोगितालाई जोर्डनमा सारिएको नेपाल बक्सिङ संघले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।