काठमाडौं । नेपाल पुलिस क्लबका भुपेन्द्र थापासहित ९ खेलाडी थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
नेपाल बक्सिङले आयोजना गरेको छनोटबाट ६ पुरुष र ३ महिलासहित ९ खेलाडी च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा बिहिबार पुरुषको ६९ केजीको फाइनलमा भुपेन्द्रले दाङका विकास राणालाई हराएर च्याम्पियनसिपका लागि छनोट भए ।
यस्तै पुरुष ५२ केजीमा पुलिसका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगर, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउंदै च्याम्पियनसिपका लागि छनोट भए । प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए ।
महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै छनोट भईन् । महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन् । महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन् ।
च्याम्पियनसिप आगामी अप्रिल १ देखि १० तारिखसम्म पतायामा हुनेछ । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।