काठमाडौं । ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक राजु तामाङले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा काठमाडौं रेजर्स एफसीसँग पराजित भएको बताएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर काठमाडौंसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
यस हारसँगै ललितपुर प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
'सुरुवातमा राम्रो अवसर पाएका थियौं । त्यो सदुपयोग गर्न सकेनौं,' उनले भने, 'काठमाडौंका विदेशी खेलाडीले राम्रो खेले । उनीहरुले पाएको अवसरलाई सहि सदुपयोग गरे ।'
प्रशिक्षक तामाङले खेलाडी थाकेको कारण पनि हार व्यहोर्नु परेको बताए ।
'खेलाडी थाकेका थिए । जसको कारण पनि हामीलाई गार्हो भयो,' उनले भने ।
ललितपुरले लगातार दोस्रो दिन खेल खेलेको हो । ललितपुरले बुधबार बुटवल लुम्बिनी एफसीसँग खेलेको थियो ।