एजेन्सी । बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज (शनिबार) राति खेल्दै छन् । समूह बीमा रहेका दुबै टोली पहिलो प्रतिस्पर्धाका लागि तयारी अवस्थामा छन् । खेल नेपाली समय अनुसार राति क्रेस्टोभस्काई स्टेडियममा १२:४५ बजे सुरु हुनेछ ।
रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियम दृढ विश्वासका साथ आफुलाई विश्वको पहिलो स्थानमा रहेको कुरा प्रस्ट पार्न खोज्नेछ । त्यस्तै समूहको विजेताको रुपमा अगाडी बढ्न चाहन्छ । यता रुस समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणका लागि प्रवेश गर्नेमा अपेक्षा राख्दछ ।
यस खेलको प्लेयर्स टु वाचमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र रुसका लागि मिडफिल्डर एलेक्जेन्डर गोलोभिन रहनेछन् ।
रोमेलु लुकाकु (बेल्जियम)
शारीरिक तथा प्राविधिक रुपमा निकैनै बलिया स्ट्राइकर रोमेलु लुकाकु रुसका लागि घातक बन्न सक्नेछन् । अग्रपंक्तिमा विपक्षी डिफेण्डरलाई सहजै बिट गर्न माहिर २८ वर्षियलुकाकु बेज्लियमको मुख्य हतियार रहनेछन् ।
इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका लुकाकुले यस अघि इंग्लिस प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिसकेका छन् । उनले इन्टर अघि चेल्सी, एभर्टन र म्यानचेस्टर युनाईटेडबाट खेलिसकेका छन् ।
लुकाकुले बेल्जियमको उमेर समूह टिम यू-१५, १८, २१ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले हालसम्म ९३ खेलमा ६० गोल गरेका छन् । लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्ता समेत हुन् । आफ्नो पोजिसनमा सहजै भिज्ने, पेनाल्टीमा सफल प्रहार र फिनिसिङ समेत उत्कृष्ट रहेको लुकाकुलाई रोक्नु रुसलाई टाउको दुखाईको विषय बन्नेछ ।
एलेक्जेन्डर गोलोभिन (रुस)
रुसका गोलोभिन बेल्जियमविरुद्धको खेलमा टिमका लागि मुख्य खेलाडी हुनेछन् । सेन्टर मिडफिल्डर तथा विगरको भूमिका निर्वाह गर्ने गोलोभिन बेल्जियमविरुद्ध बल पकडमा राख्दै काउण्टरमा टोलीलाई साथ दिनेछन् ।
फ्रेन्च लिग वान क्लब मोनाकोबाट खेल्दै आएका २५ वर्षीय गोलोभिन अट्याकिङ मिडफिल्डर समेत हुन् । उनीसँग रुसी क्लब मस्कोबाट खेलेको अनुभव समेत रहेको छ । उनलाई रुसको यू-१७, १८, १९, २१ टोलीबाट खेलेका अनुभव पनि छ ।
गोलोभिनले रुसका लागि ३८ खेलमा ५ गोल गरेका छन् । उनी बेल्जियमविरुद्ध रुसी टिमका प्लेमेकरमा हुनेछन् । बल कन्ट्रोल, पकडमा राखेर खेल्न उनको खुबी हो ।