एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने दोस्रो खेलमा डेनमार्क र फिनल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।
कोपनहेगनमा घरेलु टिम डेनमार्कले फिनल्याण्डसँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा डेनमार्क जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । फिनल्याण्ड पनि डेनमार्कलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
तुलनात्मक रुपमा फिनल्याण्डविरुद्ध डेनमार्क बलियो देखिएको छ । हेड टु हेडमा समेत डेनमार्क बलियो देखिएको छ । डेनमार्क र फिनल्याण्डले हालसम्म ५९ खेल खेलेका छन् । जसमा डेनमार्कले ३८ खेल जितेको छ ।
डेनमार्क र फिनल्याण्डबीच हुने खेलको प्लेयर्स टु वाच रहेका खेलाडीको वर्णन तल गरिएको छ ।
क्रिस्चियन एरिक्सन (डेनमार्क)
एरिक्सन डेनमार्कको पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडी । आफ्नो उच्च लयमा रहँदा उनले टोटनहमका लागि खेलेका थिए । अहिले उनी सिरी ए क्लब इन्टर मिलानमा रहेका छन् ।
२९ वर्षीय एरिक्सन अट्याकिङ मिडफिल्डरको रुपमा मैदानमा छाउने गर्छन् । आयाक्सबाट आफ्नो व्यवसायिक फुटबल सुरु गरेका एरिक्सन ७ वर्ष टोटेनहम बसेर इन्टर पुगेका हुन् ।
एरिक्सनसँग डेनमार्कको यू-१७, १८, १९, २१ हुँदै राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । उनले राष्ट्रिय टोलीबाट १०८ खेल खेल्दा ३६ गोल गरेका छन् । लामा सट, फ्रिकिक र राम्रा पास उपलब्ध गराउन सिपालु एरिक्सन फिनल्याण्डका लागि टाउको दुखाईको विषय बन्न सक्छन् ।
टिमु पुकी (फिनल्याण्ड)
टिमु पुकी फिनल्याण्डका अनुभवी खेलाडी हुन् । ३१ वर्षीय स्ट्राइकर अहिले आफ्नो उच्च लयमा रहेका छन् । युरोकपको छनोट खेलमा उनले १० खेलमा १० गोल गरेका थिए । त्यसैले डेनमार्कविरुद्ध उनको प्रदर्शन उच्च रहनेछ । डेनमार्कलाई टाउको दुखाइको विषय बन्नेछन् पुकी ।
व्यवसायिक फुटबल इंग्लिस क्लब नर्विच सिटीबाट खेलिरहेका पुकीसँग शाल्के, सेभिया जस्ता टोलीबाट खेलेको अनुभव छ । टिमु पुकीले फिनल्याण्डको यू-१५, १६, १७, १८, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।
पुकीले राष्ट्रिय टोलीबाट ९१ खेल खेल्दै ३० गोल गरेका छन् । पुकी उत्कृष्ट फिनिसिङसँगै पेनाल्टी प्रहार गर्न र लामा सट प्रहार गर्न माहिर छन् ।