एजेन्सी । युरोपेली क्लब फुटबलमा युवा स्टारको रुपमा उदाएका जाडोन साञ्चोलाई बेच्न बोरुसिया डर्टमण्ड तयार भएको छ ।
ईङ्ल्याण्ड र स्पेनका ठुला क्लबले आखाँ लगाईरहेको साञ्चोलाई बेच्न जर्मन क्लब डर्टमण्ड तयार देखिएको हो ।
डर्टमण्ड प्रमुख हान्स जोचिम वत्जकेले खेलाडीको चाहनाको सधै सम्मान गर्ने भन्दै साञ्चो नयाँ गन्तव्यमा जान सक्ने प्रष्ट पारेका छन् ।
‘खेलाडीले के चाहन्छ, हामीले सधै सम्मान गर्दै आएका छौ ।’ वत्जकेले भनेका छन् ।
साञ्जोलाई स्पेनिस क्लब बार्सिलोनादेखि ईङ्ल्याण्डको लिभरपुल, चेल्सी र म्यान्चेष्टर युनाईटेडले अनुबन्धनको प्रयास गरिरहेका छन् ।
पछिल्लो समय साञ्चोलाई अनुबन्धन गर्न युनाईटेडले सघन छलफल अघि बढाएको छ । तर डर्टमण्डले युनाईटेडले प्रस्ताव गरको सस्तो मुल्यमा साञ्चो बेच्न नसकिने प्रष्ट पारेको छ । युनाईटेडले युवा स्टार साञ्चोका लागि सय मिलियन पाउण्डको प्रस्ताव अघि सारेको छ ।
सन् २०१७ मा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीबाट साञ्चो जर्मन क्लबसंग आबद्व भएका थिए । जर्मन क्लबमा साञ्चोले गरेको प्रर्दशनले युरोपका धनी क्लबको ध्यान खिचिएको हो ।
त्यही भिडमा युनाईटेडले युरोपेली क्लब फुटबलमा युवा स्टारलाई अनुबन्धनको प्रयास गरिरहेको छ ।
भर्खर २० बर्षका साञ्चोका लागि डर्टमण्डले ठुलै रकमको प्रस्तावको अपेक्षा राखेको छ । साञ्चोले ईच्छा गरेको क्लबबाट करियर अघि बढाउन सक्ने डर्टमण्डले उल्लेख गरेको छ ।
‘कोरोना अघि हामीले भनेका थियौ, साञ्चो हामीसंग बसुन ।’ वत्जकेले भनेका छन्, ‘मैले स्पष्ट रुपमा ठुला क्लबलाई भनेको छु, आन्तरिक संकटका बाबजुत उनीहरु बार्गेनिङमा हामीसंग जान सक्दैनन् । हामी कुनैपनि सानो मुल्यमा उनलाई बेच्न चाहदैनौ ।’
लिभरपुल, चेल्सी, बार्सिलोना र युभेन्ट्सले समेत साञ्चो अनुबन्धनमा ईच्छा देखाईरहेका छन् । तर अन्य क्लबले युनाईटेडले प्रस्ताव गरेको सय मिलियन पाउण्ड भन्दा अगाडी बढेर साञ्चोको लागि मुल्य प्रस्ताव गर्नुपर्नेछ ।
सन् २०१६ मा युनाईटेडले युभेन्ट्सबाट पाउल पोग्बालाई कीर्तिमानी ८९ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो । साञ्चो अनुबन्धनमा सफल भए ओल्डट्राफोर्ड क्लबले खेलाडी सरुवामा नयाँ कीर्तिमान कायम गर्नेछ ।
कोरोना भाईरसले लिग स्थगित हुनु अघि साञ्चाले डर्टमण्डका लागि सबै प्रतियोगितामा १७ गोल गरेका थिए । उनले ३५ खेलमा १९ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
उनकै प्रेरणादायी प्रर्दशनमा डर्टमण्ड बुन्डेशलिगाको दोस्रो स्थानमा छ । क्लबले उपाधिका लागि शीर्ष स्थानको बार्यन म्युनिखलाई चुनौती दिईरहेको छ ।