काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता स्थगित भएको छ ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित भएको जनाएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने तय भएको थियो ।
तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताको लागि भईरहेको गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदुरपश्चिम प्रदेशको छनोट समेत स्थगित गरिएको जनाएको छ ।
'पछिल्लो समय कोरोना भाइरसको संक्रमण संसारभर महामारीको रुपमा फैलिएपछि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएकाले काठमाडौंमा तय भएको राष्ट्रिय प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ,' प्रतियोगिता संयोजक राजिब श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा हुने तय भएको थियो ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताईएको थियो । यस्तै प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने जनाएको थियो ।